सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–८ निवासी, प्रखर वक्ता, समाजसेवी, शिक्षाप्रेमी तथा विभिन्न सामाजिक, शैक्षिक, राजनीतिक र साहित्यिक क्षेत्रमा सक्रिय व्यक्तित्व कृष्णबहादुर भट्टराईको असामयिक निधन भएको छ।

उहाँको निधनले सुन्दरहरैँचा नगरसहित समग्र मोरङ जिल्ला नै शोकमग्न बनेको छ। स्वर्गीय भट्टराई भट्टराई कुल वंश प्रतिष्ठानका केन्द्रीय संस्थापक सदस्य, नेपाली कांग्रेस मोरङका जिल्ला सल्लाहकार सदस्य, विराट साहित्य समाज सुन्दरहरैँचाका सल्लाहकार, श्री पञ्चायत माध्यमिक विद्यालयको उर्मिला पुस्तकालयका संस्थापक तथा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष हुनुहुन्थ्यो। उहाँ सामाजिक चेतना, स्पष्टवक्ता, निर्भीक स्वभाव, शिक्षाप्रेम, धर्मप्रेम तथा मिलनसार व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो।

जीवनभर सामाजिक, राजनीतिक, शैक्षिक तथा आर्थिक विकासका विविध क्षेत्रमा सक्रिय योगदान पुर्‍याउनुभएका भट्टराईको निधनले समाजले एक इमानदार, निष्ठावान् र दूरदर्शी अभिभावक गुमाएको भन्दै विभिन्न संघ–संस्था, राजनीतिक दल, शैक्षिक प्रतिष्ठान तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गरेका छन्। उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उहाँका विचार, योगदान र सेवाभाव समाजका लागि सधैं प्रेरणाको स्रोत रहने उल्लेख गरिएको छ।

प्राप्त जानकारी अनुसार, स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका क्रममा उहाँको दुःखद निधन भएको हो। उहाँको निधनको खबरले आफन्त, साथीभाइ, सहकर्मी तथा शुभेच्छुकहरू स्तब्ध बनेका छन्।

स्वर्गीय भट्टराईको पार्थिव शरीरको अन्त्येष्टि मंगलबार बिहान १०:३० बजे बुढीगंगा मुक्तिघाटमा हिन्दू परम्पराअनुसार गरिने कार्यक्रम तय गरिएको छ । अन्तिम श्रद्धाञ्जली अर्पण गर्न तथा मलामीमा सहभागी भई दिवंगत आत्माको चिरशान्तिको कामना गर्न सम्पूर्ण आफन्त, इष्टमित्र, शुभेच्छुक तथा नगरवासी महानुभावहरूलाई हार्दिक अनुरोध गरिएकाे छ। स्वर्गीय कृष्णबहादुर भट्टराईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ। उहाँको आत्माले चिरशान्ति प्राप्त गरोस् भन्ने कामनासहित समाजले उहाँका योगदानलाई सधैं सम्मानपूर्वक स्मरण गर्ने विश्वास व्यक्त गरेको छ।

तपाईको प्रतिक्रिया