सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा–१० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीलाई आत्मीय स्वागत गर्दै नयाँ शैक्षिक सत्रको औपचारिक सुरुआत गरेको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा खादा, टीका तथा शुभकामनासहित विद्यार्थीलाई स्वागत गरिएको थियो। कार्यक्रममा सांस्कृतिक नृत्य, सांगीतिक प्रस्तुति तथा प्रेरणामूलक सन्देश प्रस्तुत गरिएको थियो। शिक्षक तथा विद्यार्थीहरूले विद्यालयको शैक्षिक वातावरण, अनुशासन, संस्कार र अध्ययन प्रणालीबारे जानकारी गराउँदै नयाँ विद्यार्थीलाई विद्यालय परिवारसँग घुलमिल हुन प्रेरित गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले गुणस्तरीय शिक्षासँगै नैतिकता, अनुशासन, नेतृत्व विकास र प्रविधिमैत्री शिक्षालाई विद्यालयले उच्च प्राथमिकतामा राख्दै आएको बताए । उनले विद्यार्थीलाई केवल उत्कृष्ट नतिजामा सीमित नराखी सक्षम, जिम्मेवार र समाजप्रति उत्तरदायी नागरिकका रूपमा विकास गर्ने लक्ष्यका साथ विद्यालय अघि बढिरहेको उल्लेख गरे ।
कार्यक्रममा शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विद्यालयले यस्ता विद्यार्थीमैत्री कार्यक्रममार्फत नयाँ विद्यार्थीमा आत्मीयता, आत्मविश्वास र विद्यालयप्रतिको अपनत्व अभिवृद्धि गर्ने परम्परालाई निरन्तरता दिँदै आएको जनाएको छ।
सुन्दरहरैँचा नगरपालिकाको पुराना तथा प्रतिष्ठित शैक्षिक संस्थामध्ये एक सिद्धार्थ सेकेण्डरी स्कुलमा हाल दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलाप, अनुशासित शैक्षिक वातावरण र उत्कृष्ट शैक्षिक उपलब्धिका कारण विद्यालयले नगर तथा आसपासका क्षेत्रका अभिभावकको विश्वास जित्दै आएको छ। ~ मणिराम दाहाल





