मणिराम दाहाल / सुन्दरहरैँचा
सुन्दरहरैँचा नगरपालिका १० विराटचोकस्थित शाखा कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत नियमित मासिक बाल बचत गर्ने शेयर सदस्यका छोराछोरीलाई शैक्षिक सामग्री वितरण गरेको छ।
संस्थाले बाल बचत खातामा नियमित बचत गर्ने १२० जना बाल बचतकर्तालाई अभिभावक मार्फत उनीहरूको बचतको आधारमा कापी, पेन्सिल तथा ज्यामिति बक्स लगायत शैक्षिक सामग्री वितरण गरेको हो। सहकारीले हरेक वर्ष सञ्चालन गर्दै आएको यस कार्यक्रमअन्तर्गत गत वर्ष बाल बचतकर्तालाई विद्यालय झोला (ब्याग) वितरण गरिएको थियो। सोही कार्यक्रममा संस्थाले सदस्य राहत कोष अन्तर्गत बिरामी भएका दुई जना शेयर सदस्यलाई आर्थिक सहायता पनि प्रदान गरेको छ। राहतस्वरूप कमलाकुमारी गुरुङ र युना विष्टलाई गरी कुल रु. ४५ हजार ३७० वितरण गरिएको संस्थाले जनाएको छ।
हाल विराटचोक शाखामा १ हजार ३९६ जना शेयर सदस्य आबद्ध रहेका छन्। संस्थाले विभिन्न क्षेत्रमा ४४ वटा सेवा केन्द्र सञ्चालन गर्दै आएको छ भने संस्थामा कुल ७० हजार शेयर सदस्य रहेका छन्। विराटचोक सेवा केन्द्र प्रमुख विशेष गौतमले नियमित बचत गर्ने बानीको विकाससँगै बालबालिकाको शिक्षामा टेवा पुर्याउने उद्देश्यले हरेक वर्ष यस्ता कार्यक्रम सञ्चालन गरिँदै आएको बताए। उनले सहकारीले बचतसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै सदस्यहरूको सुख–दुःखमा साथ दिँदै आएको उल्लेख गरे।
त्यसैगरी विराटचोक शाखाकी क्यासियर अनामिका बस्नेतले बाल बचत कार्यक्रमले बालबालिकामा सानैदेखि बचत गर्ने संस्कार विकास गर्नुका साथै अभिभावकलाई पनि नियमित बचत गर्न प्रेरित गरेको बताइन्। आगामी दिनमा पनि सदस्यमुखी तथा सामाजिक उत्तरदायी कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ थियो।





