सुन्दरहरैँचा / सुन्दरहरैँचा–९, बुधबारेस्थित लाइट गार्डेन एकेडेमीले १०औँ दीक्षान्त समारोह तथा स्वागत कार्यक्रम–२०८३ सम्पन्न गरेको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष तथा प्रिन्सिपल ऋषिराम पाठकको सभापतित्व रहेको थियाे । सुन्दरहरैँचा–९ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ प्रमुख अतिथि, द राइजिङ स्कुलका प्रिन्सिपल गोपाल पाठक विशिष्ट अतिथि तथा वडा सदस्य शारदा बिकलगायत विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
प्रमुख अतिथि प्रकाश श्रेष्ठले गुणस्तरीय र व्यवहारिक शिक्षा नै समाज परिवर्तनको आधार भएको उल्लेख गर्दै विद्यालयको प्रगतिको प्रशंसा गरे। अध्यक्ष तथा प्रिन्सिपल ऋषिराम पाठकले आधुनिक, अनुशासित र जीवनोपयोगी शिक्षामार्फत विद्यार्थीलाई सिर्जनशील, आत्मविश्वासी र जिम्मेवार नागरिक बनाउने लक्ष्यका साथ विद्यालय अघि बढिरहेको बताए। विशिष्ट अतिथि गोपाल पाठकले विद्यालयको शैक्षिक यात्राको सराहना गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा शैक्षिक वर्ष सफलतापूर्वक पूरा गरेका विद्यार्थीलाई दीक्षान्त प्रमाणपत्र प्रदान गर्नुका साथै नयाँ विद्यार्थीलाई स्वागत गरिएको थियो। उत्कृष्ट विद्यार्थीलाई सम्मान गरिनुका साथै गीत, नृत्यसहितका सांस्कृतिक प्रस्तुति पनि गरिएको थियो। “समयसँगै परिवर्तित शिक्षा आजको आवश्यकता” भन्ने मूल नारासहित आयोजित कार्यक्रम एक दशकको शैक्षिक यात्रालाई स्मरण गर्दै गुणस्तरीय शिक्षाप्रतिको प्रतिबद्धता व्यक्त गर्दै सम्पन्न भएको विद्यालयले जनाएको छ।





