सुन्दरहरैँचा/ सुन्दरहरैँचा नगरपालिका क्षेत्रभित्र सर्प भेटिएमा नगरप्रहरीमार्फत उद्धार गर्ने सेवा सुरु गरिएको छ।

सर्पको टोकाइबाट हुने मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले गाउँघर तथा बस्तीमा भेटिएका सर्पलाई सुरक्षित रूपमा उद्धार गरी वन क्षेत्रमा छाड्ने व्यवस्था मिलाइएको हो । नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखाका प्रमुख वासुदेव अधिकारीका अनुसार समुदायमा सर्पको टोकाइका कारण नागरिकले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नगरप्रहरीलाई विशेष तालिम प्रदान गरी सर्प उद्धार कार्यमा परिचालन गरिएको हो।

हाल नगरप्रहरी हर्कबहादुर थापा र श्रवण कविरतले सर्प उद्धारको जिम्मेवारी सम्हाल्दै आएका छन्। नगरपालिकाले सर्प देखिएमा नआत्तिन, आफैं समात्ने प्रयास नगर्न तथा तत्काल नगरप्रहरीलाई जानकारी गराई सुरक्षित उद्धारमा सहयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यस सेवाबाट सर्प र मानवबीचको द्वन्द्व कम हुनुका साथै सर्पदंशबाट हुने दुर्घटना तथा मानवीय क्षति घट्ने अपेक्षा गरिएको नगरपालिकाले जनाएको छ

तपाईको प्रतिक्रिया