सुन्दरहरैँचा / राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वको अवसरमा इन्द्रपुर नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूले आयोजना गरेको धान रोपाइ कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा विद्यार्थी, शिक्षक तथा विद्यालय परिवारको सक्रिय सहभागिता रहेको थियो। खेतमै धान रोपेर विद्यार्थीहरूले नेपाली कृषि संस्कृति, किसानको मेहनत र श्रमको महत्वलाई व्यवहारमै आत्मसात गरेका थिए। धान रोपाइ कार्यक्रमले विद्यार्थीहरूलाई कृषि पेशाप्रति सम्मान, सामूहिक कार्य, सहयोगको भावना तथा नेपाली मौलिक परम्परासँग जोडिन प्रेरित गरेको विद्यालयले जनाएको छ।
सहभागीहरूले हिलोमा रमाउँदै धान रोपेपछि दही–चिउरा ग्रहण गरी असार १५ को पर्वलाई थप उल्लासपूर्ण बनाएका थिए।
विद्यालयले यस्ता व्यवहारिक तथा सांस्कृतिक कार्यक्रमले विद्यार्थीमा श्रमको सम्मान, सामाजिक उत्तरदायित्व र कृषि संस्कृतिप्रतिको सकारात्मक सोच विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ। कार्यक्रमले कृषि, संस्कृति र शिक्षाबीचको सम्बन्धलाई जीवन्त रूपमा प्रस्तुत गर्दै सबै सहभागीलाई अविस्मरणीय अनुभव दिलाएको थियो।





