मणिराम दाहाल / सुन्दरहरैंचा
सुन्दरहरैंचाको ऐतिहासिक विकास, वर्तमान अवस्था तथा आर्थिक समृद्धिका सम्भावनाबारे व्यापक बहस सिर्जना गर्ने उद्देश्यका साथ ‘रन सुन्दरहरैंचा–२०८३’ आयोजना हुने भएको छ।
कार्यक्रमबारे जानकारी दिन विराटचोकस्थित सार्वजनिक पुस्तकालयमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले तयारी तथा उद्देश्य सार्वजनिक गरेको हो।सुन्दरहरैंचा उद्योग वाणिज्य संघको आयोजनामा,सुन्दरहरैंचा नगरपालिकाको प्रवर्द्धन तथा विभिन्न स्थानीयसंघ–संस्थाको सह–आयोजनामा सञ्चालन हुने कार्यक्रम अन्तर्गत असार १४ गते इन्द्रपुर जेसीजको सभाहलमा अन्तरक्रिया तथा बहस कार्यक्रम आयोजना गरिने भएको छ । असार १५ गते बिहान विराटचोकदेखि हरैंचासम्म ‘रन सुन्दरहरैंचा’ सञ्चालन हुनेछ।
सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले कार्यक्रमले सुन्दरहरैंचाको विकास यात्रा, आर्थिक सम्भावना, लगानी, पर्यटन, उद्यमशीलता तथा समृद्धिका विषयमा साझा दृष्टिकोण निर्माण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रम संयोजक तथा उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलालका अनुसार असार १५ गते हुने ‘रन सुन्दरहरैंचा’मा करिब १० हजार जानाको सहभागिता रहने अपेक्षा गरिएको छ।
असार १४ गते हुने बहस कार्यक्रममा वरिष्ठ पत्रकार टिकाराम यात्री, पत्रकार दिलभूषण पाठक, पूर्व अर्थसचिव रामेश्वर खनाल, नायिका रेखा थापा, उद्योगी सुरेश प्याकुरेल, उद्योगी अरुण सुवेदी, सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं तथा पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल वक्ताका रूपमा सहभागी हुनेछन्।
बहस कार्यक्रममा सुन्दरहरैंचाको विकास यात्रा, आर्थिक सम्भावना, लगानी, पर्यटन, उद्यमशीलता, रोजगारी सिर्जना तथा भविष्यका विकास प्राथमिकता लगायतका विषयमा गहन छलफल हुने आयोजकले जनाएको छ। कार्यक्रमबाट नगरको दीर्घकालीन समृद्धिका लागि साझा अवधारणा र विकासको स्पष्ट मार्गचित्र तयार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
पत्रकार सम्मेलनमा आयोजकले कार्यक्रमलाई सफल बनाउन सञ्चारकर्मी, उद्योगी–व्यवसायी, बुद्धिजीवी तथा आम नागरिकलाई सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।





