सुन्दरहरैँचा / सुन्दरहरैँचा नगरपालिकाको आर्थिक सहयोग तथा परोपकार महिला समूह, सुन्दरहरैँचा–१० को आयोजनामा असार ४ र ५ गते सुकुना खेल मैदानमा “सुन्दरहरैँचा नगरपालिका अन्तर विद्यालय छात्रा कबड्डी प्रतियोगिता २०८३” आयोजना हुने भएको छ।

प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका छात्रा टोली सहभागी हुनेछन्। विजेताले रु १५ हजार नगदसहित ट्रफी र मेडल तथा उपविजेताले रु १० हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।
परोपकार महिला समूहकी अध्यक्ष उमा गुरुङले छात्रा खेलाडीलाई खेलकुदमार्फत सशक्त बनाउने तथा कबड्डी खेलको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन्। उनका अनुसार प्रतियोगिताले छात्राहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र प्रतिस्पर्धात्मक भावना विकास गर्न मद्दत पुर्‍याउनेछ।

खेल संयोजक असिम जंग किराँतीले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै प्रतियोगिता निष्पक्ष, मर्यादित र प्रतिस्पर्धात्मक वातावरणमा सम्पन्न गरिने बताए। उनले नगरभित्रका प्रतिभावान छात्रा खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नु नै प्रतियोगिताको मुख्य उद्देश्य रहेको उल्लेख गरे।

आयोजकका अनुसार प्रतियोगितामा कक्षा ८, ९ र १० मा अध्ययनरत छात्राहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। प्रतियोगिता सफल बनाउन अभिभावक, खेलप्रेमी तथा स्थानीयवासीलाई उपस्थित भई छात्रा खेलाडीहरूको उत्साहवर्द्धन गर्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया