सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका–३ स्थित सगरमाथा टोलका स्थानीयवासीले सडकको दयनीय अवस्थाप्रति असन्तुष्टि जनाउँदै सडकमै धान रोपेर सांकेतिक विरोध प्रदर्शन गरेका छन्।
लामो समयदेखि सडक जीर्ण र हिलाम्मे बनेपछि आवतजावतमा समस्या भएको भन्दै स्थानीयले अनौठो शैलीमा विरोध जनाएका हुन्। स्थानीयका अनुसार वर्षायाममा सडक हिँड्नै नसकिने अवस्थामा पुगेको छ भने सवारीसाधन सञ्चालन गर्न समेत कठिन हुने गरेको छ।
स्थानीयवासीले सडक मर्मतका लागि पटक–पटक वडा कार्यालयमा लिखित तथा मौखिक रूपमा आग्रह गर्दै कम्तीमा एक–दुई ट्र्याक्टर मिक्स गिटी हालेर आवागमन सहज बनाउन माग गरेका थिए। तर, सम्बन्धित निकायबाट कुनै सुनुवाइ नभएको उनीहरूको गुनासो छ।
आर्थिक वर्ष सकिन लाग्दा समेत सामान्य मर्मतसम्भार गर्न नसकिने जवाफ पाएपछि बाध्य भएर सडकमै धान रोपेर सांकेतिक विरोध गर्नुपरेको स्थानीयको भनाइ छ। उनीहरूले तत्काल सडक मर्मत गरी आवागमन सहज बनाइदिन सम्बन्धित निकायसँग माग गरेका छन्।
स्थानीयले जनप्रतिनिधि र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै विकासका ठूला योजना भन्दा पहिले नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका आधारभूत पूर्वाधारको व्यवस्थापनमा ध्यान दिनुपर्ने बताएका छन्।





