मणिराम दाहाल / सुन्दरहरैँचा

सुन्दरहरैँचा नगरपालिकास्थित सुकुना माध्यमिक विद्यालयबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा तीन जना सुस्त श्रवण (बहिरा) विद्यार्थी सफलतापूर्वक उत्तीर्ण भएका छन्।

विद्यालयका अनुसार विद्यार्थी लोचना खनाल, खुसी लिम्बू र ललित तामाङ ले कक्षा १ देखि नै आवासीय रूपमा अध्ययन गर्दै समावेशी शिक्षाको माध्यमबाट एसइई परीक्षा उत्तीर्ण गर्न सफल भएका हुन्। तीनै विद्यार्थीले विद्यालयको समावेशी कक्षामा अध्ययन गर्दै निरन्तर मेहनत, अनुशासन र शिक्षकहरूको सहयोगका कारण उल्लेखनीय उपलब्धि हासिल गरेका विद्यालय प्रशासनले जनाएको छ।

विद्यार्थीहरूको सफलतालाई सम्मान गर्दै विद्यालयले विशेष सम्मान कार्यक्रम समेत आयोजना गरेको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हिक्मत वस्नेत तथा सहायक प्रधानाध्यापक राजेन्द्र गिरि लगायत शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

विद्यालय प्र. अ वस्नेतले समावेशी शिक्षा प्रणालीले विशेष आवश्यकता भएका विद्यार्थीलाई पनि समान अवसर प्रदान गर्ने प्रमाणित भएको उल्लेख गरे । साथै आगामी दिनमा यस्ता विद्यार्थीलाई अझ प्रभावकारी शैक्षिक वातावरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकाे बताए । यस सफलताले सुन्दरहरैँचा क्षेत्रमै समावेशी शिक्षाको सकारात्मक उदाहरण स्थापित गरेको स्थानीय समुदायले जनाएको छ।

तपाईको प्रतिक्रिया