सुन्दरहरैँचा / माेरङकाे सुन्दरहरैँचा नगरपालिका–१२ मा रहेको सुकुना बहुमुखी क्याम्पसमा आयोजित १९औँ क्याम्पस परिषद् बैठकले नयाँ नेतृत्व चयन गर्दै आगामी शैक्षिक कार्यक्रमलाई नयाँ दिशामा अघि बढाउने निर्णय गरेको छ।
गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (QAA) मान्यता प्राप्त क्याम्पसको परिषद् बैठकअन्तर्गत सम्पन्न खुला सत्रले क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सुरेन्द्रबहादुर थापालाई सर्वसम्मत रूपमा चयन गरेको हो।
बैठकले सञ्चालक समितिका सदस्यहरूमा उमेश वस्ती, टिका कट्टेल, रमेश खड्का, नवराज चापागाई, पुण्यप्रसाद आचार्य, तिलकप्रसाद ढकाल, लक्ष्मीप्रसाद फुयाल, योजना शर्मा, योगराज काफ्ले, नेत्रप्रसाद ढकाल, तुलसीप्रसाद ढकाल तथा महेश कुमार आचार्यलाई मनोनयन गरेको जनाएको छ।
कार्यक्रममा परशुराम खापुङ प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए । निवर्तमान अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले क्याम्पसको हालको शैक्षिक अवस्था, विकास योजना तथा भावी रणनीतिबारे प्रस्तुति दिएका थिए ।
परिषद् बैठकका अवसरमा शिक्षा क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। साथै क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, भौतिक संरचना विस्तार र विद्यार्थीमैत्री शैक्षिक वातावरण निर्माणलाई आगामी प्राथमिकताका रूपमा अघि बढाउने निर्णय गरिएको जनाइएको छ।





