सुन्दरहरैँचा / मोरङको विराटचोकस्थित यामाहाको आधिकारिक बिक्रेता बि. एण्ड बि. अटो ट्रेडर्स प्रा. लि. ले एक विशेष कस्टमर मिट कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा सो शोरुमको सर्भिस सेन्टरबाट नियमित रूपमा बाइक तथा स्कुटर सर्भिस र मर्मत सेवा लिँदै आएका ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य उद्देश्य सर्भिस सेन्टरले प्रदान गर्दै आएको सेवा, सुविधा तथा ग्राहक सन्तुष्टिका विषयमा प्रत्यक्ष छलफल तथा अन्तरक्रिया गर्नु रहेको थियो। सहभागी ग्राहकहरूले आफ्ना अनुभव, सुझाव तथा अपेक्षाहरू खुलस्त रूपमा व्यक्त गरेका थिए, जसले सेवा अझ प्रभावकारी बनाउनेतर्फ महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
कार्यक्रममा एम. ए. डब्लु राईड्स प्रा. लि. का तर्फबाट सर्भिस हेड निर्मल कार्की, एरिया सेल्स म्यानेजर जोसन बिष्ट तथा एरिया सर्भिस म्यानेजर मिथिलेस मण्डलले आफ्ना विचार राख्दै ग्राहक सेवाको गुणस्तर अझ सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
यसैगरी, शोरुमका प्रबन्धक बिष्णु कार्कीले स्वागत मन्तव्य व्यक्त गर्दै सम्पूर्ण ग्राहकहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले ग्राहकहरूसँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रमको अवसरमा विभिन्न विधामा उत्कृष्ट सहभागिता जनाउने ग्राहकहरूलाई पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो। कार्यक्रमले ग्राहक र कम्पनीबीचको सम्बन्ध अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।





