सुन्दरहरैँचा / मोरङको सुन्दरहरैंचा नगरपालिका १० खोर्सानेस्थित सुकुना खेल मैदानमा “प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्साने गोल्डकप फुटबल प्रतियोगिता–२०८३” आयोजना हुने भएको छ।
सुन्दर खोर्साने युवा क्लब को आयोजनामा हुने प्रतियोगिता जेठ २ गतेदेखि सुरु हुने आयोजकले जनाएको छ। स्थानीय स्तरमा सामाजिक तथा खेलकुद गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्दै आएको क्लबले फुटबल मार्फत युवाहरूलाई सकारात्मक दिशातर्फ प्रेरित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगिता दैनिक दिउँसो २ बजेदेखि सञ्चालन हुनेछ भने करिब ३ हजारदेखि ५ हजार दर्शक उपस्थित हुने अनुमान गरिएको छ । प्रतियाेगिता सम्पन्न गर्न करिब १४ लाख खर्च हुने उल्लेख गरिएको छ ।
आयोजकका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य फुटबल खेलको सर्वाङ्गीण विकास गर्नु, राष्ट्रलाई खेलकुदमार्फत अन्तर्राष्ट्रिय स्तरमा चिनाउनु तथा युवामा अनुशासन, एकता र सकारात्मक सोचको विकास गर्नु रहेको छ। साथै दुर्व्यसनमुक्त समाज निर्माण, पर्यटन प्रवर्द्धन तथा खेलकुद पूर्वाधार विकासमा समेत प्रतियोगिताले टेवा पुग्ने विश्वास गरिएको छ।
प्रतियोगितामा आयोजक टोलीसँगै भारतको यू.के.एफ.सी दार्जिलिङ , इटहरीको राष्ट्रिय जागृति फुटबल क्लब तथा सहलेस फुटबल क्लब सिराहको सहभागिता रहने जनाइएको छ। अन्य टोलीहरूको सहभागिताबारे पनि छलफल भइरहेको आयोजकले जनाएको छ।
आयोजक क्लबका अनुसार प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै प्रदेशस्तरीय तथा राष्ट्रियस्तरका खेलाडी उत्पादनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। फुटबलप्रेमी दर्शकलाई मनोरञ्जन प्रदान गर्दै स्वास्थ जीवनशैली र खेल संस्कृतिको विकासमा प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको आयाेजक क्लबका अध्यक्ष काजीहाङ लिम्बूले जानकारी दिए ।





