मणिराम दाहाल / सुन्दरहरैँचा

मोरङको सुन्दरहरैँचा नगरपालिका–९ सलकपुरस्थित श्रीकृष्ण प्रणामी मन्दिर सेवा आश्रममा आयोजना गरिएको अन्तरराष्ट्रिय धार्मिक स्वर्ण महोत्सव भव्य रूपमा सम्पन्न भएको छ।

नगर प्रमुख केदारप्रसाद गुरगाईले महोत्सवको उद्घाटन गरेका थिए। मन्दिर स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा महोत्सव सञ्चालन गरिएको थियो। श्रीकृष्ण प्रणामी संरक्षण सेवा समितिको आयोजनामा सम्पन्न साताव्यापी महोत्सवमा नेपाल तथा विदेशबाट हजारौं भक्तजन, सन्त–महात्मा, धर्माचार्य तथा विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रम निर्देशक रामप्रसाद गजुरेलका अनुसार महोत्सव अवधिभर १०८ श्रीमत तारतम सागर पाठ पारायण, वाणी चर्चा, श्रीमद् भागवत कृष्ण कथा ज्ञान महायज्ञ, सन्त सम्मेलन, दैनिक पूजापाठ, योग, ध्यान, भजन–कीर्तन तथा विविध सांस्कृतिक कार्यक्रम, रक्तदान तथा सामुहिक उपनयन लगायत सञ्चालन गरिएको थियो।

भागवत कथावाचन नौतनपुरी धामका प्रसिद्ध कथावाचक स्वामी लक्ष्मणदेवजी महाराजले गरेका थिए। महोत्सवमा धर्माचार्य अनन्त श्री विभूषित जगतगुरु कृष्णमणिजी महाराज, महामंगलापुरी धाम सुरताका गादिपति जगतगुरु आचार्य अनन्त श्री विभूषित सूर्यनारायण दासजी महाराज, श्री ५ पद्मावातिपुरी धाम मन्दिर ट्रस्टका परमहंस श्री १०८ सदानन्दजी महाराज लगायत राष्ट्रिय तथा अन्तरराष्ट्रिय सन्त, विद्वान तथा धर्माचार्यहरूको सहभागिता रहेको थियो । महोत्सवले धार्मिक जागरण, आध्यात्मिक चेतना विस्तार तथा धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक समितिका संयाेजक कृष्णप्रसाद शर्मा वास्ताेलाले जानकारी दिए ।

महोत्सव सञ्चालनका लाखौं रकम खर्च भएको उल्लेख्य गरिएको छ । महोत्सवमार्फत संस्कृत शिक्षा सञ्चालन गर्ने उद्देश्यले गुरुकुल निर्माण गर्ने दीर्घकालीन लक्ष्यसमेत अघि सारिएको छ। साथै आगन्तुक धार्मिक पर्यटकलाई सुन्दरहरैँचाका धार्मिक तथा पर्यटकीय क्षेत्रहरूको भ्रमण गराउने व्यवस्था मिलाइएको थियो। महोत्सव सफल बनाउन दानवीर दाताहरू, स्वयंसेवक तथा सेवाभावी व्यक्तिहरूको महत्वपूर्ण योगदान रहेको आयोजकले जनाएको छ। महासचिव युवराज पौडेलले सम्पूर्ण सहयोगी, श्रद्धालु तथा सहभागीहरूप्रति आभार व्यक्त गर्दै कार्यक्रमले निजानन्दीय सम्प्रदायको धार्मिक एकता र आध्यात्मिक भावनालाई अझ सुदृढ बनाएको बताए।

यस अवसरमा विभिन्न धर्माचार्यहरूको आगमनले स्थानीय भक्तजन तथा आयोजक परिवारलाई विशेष आध्यात्मिक अनुभूति प्राप्त भएको प्रचारप्रसार संयाेजक शरण भट्टराईले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया