सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगर अस्पतालले हरेक आइतबार सार्वजनिक बिदा हुँदा सेवा अवरुद्ध भई अन्य दिनहरूमा अत्यधिक भीडभाड बढ्दै गएको समस्यालाई मध्यनजर गर्दै आइतबार पनि सीमित OPD सेवा सञ्चालन गर्ने निर्णय गरेको छ।
अस्पतालले दिएको जानकारी अनुसार वैशाख ६ गते आइतबारदेखि लागू हुने गरी हरेक आइतबार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म १ जना चिकित्सकमार्फत OPD सेवा उपलब्ध गराइनेछ। यस निर्णयले अन्य दिनमा देखिने अत्यधिक भीड व्यवस्थापनमा केही सहजता आउने अपेक्षा गरिएको छ।
तर, आइतबारको सेवा सीमित हुने भएकाले डाक्टर तथा कर्मचारीको संख्या न्यून रहनेछ। सो दिन बिरामी दर्ता बिहान ७ बजेदेखि ११ बजेसम्म मात्र गरिनेछ भने एक जना डाक्टरले बढीमा ५० जना बिरामीलाई मात्र सेवा दिन सक्ने अस्पतालले जनाएको छ।
अस्पताल प्रशासनले अत्यावश्यक अवस्थाबाहेक अनावश्यक भीड नगर्न सर्वसाधारणसँग आग्रह गरेको छ। साथै, बिदाको दिनलाई सदुपयोग गर्दै आफ्ना आमा–बुवा तथा हजुरबा–हजुरआमाको स्वास्थ्य परीक्षण गराउने अवसरका रूपमा लिन समेत अनुरोध गरिएको छ। अस्पतालले जिम्मेवार सन्तानको भूमिकामा रहँदै ज्येष्ठ नागरिकको स्वास्थ्यप्रति सचेत हुन सबैलाई आह्वान गरेको छ।





